 |
| Add caption |
आगामी २०६९ साल मङ्सिर २५ गते मध्यरात्रीपछि (२६ गतेको एकाबिहानै सूर्योदयपहिले) १२ बजेर २३ मिनेट जाँदा आकाशमण्डलका छायाग्रह मानिने राहु र केतुले क्रमशः बृश्चिक र बृष राशीको आफ्नो भोग अवधि पूर्ण गरी तुला र मेष राशीमा प्रवेश गर्दैछन्। तुला राशीमा नै गत २०६९ साल श्रावण २८ गतेबाट शनिश्चरको प्रवेश भएको छ। शनिश्चरले एउटा राशीमा पुगनपुग साढे दुई वर्ष भोग गर्ने हुँदा यसपटक आगामी २०७१ साल कार्तिक २५ गतेसम्म शनि तुला राशीमा रहने छ। आगामी मङ्सिर २६ गते राहुले तुलाराशीमा प्रवेश गर्दाको अवस्थामा शनि र राहुको दूरी १७ अंश(डिग्री)को फरकमा रहने छ। स्मरण रहोस् एउटा राशीको मान ३० अंश(डिग्री)को हुने गर्दछ। राहु र केतुलाई छाया ग्रह मानिने र यिनको गतिलाई ज्योतिषशास्त्रमा बक्र(उल्टो) गणना गर्ने पद्धति छ। अन्य ग्रहहरू अपवादका रूपमा मात्र बक्री हुन्छन्। तुला राशीको ३०औं अंशबाट प्रवेश गरेको राहु बक्रगतिमा त्यस अवस्थामा तुला राशीकै १३औं अंशमा रहेको शनिको नजिकमा आउनेछ र शनि पनि आफ्नो गतिअनुरूप राहुका नजिकै पुगेर अघि बढ्नेछ। राहुले आगामी २०७१ साल आषाढ १६ गते मात्र तुला राशीको भ्रमण पूर्ण गर्नेछ र त्यसपछि त्यो ग्रह कन्या राशीमा प्रविष्ट हुनेछ, त्यस समयमा शनि र राहुको दूरी २१ अंशको रहनेछ। आगामी २०७० साल आश्विन १० गते यी दुबै ग्रहको सामीप्य ० अंशको रहनेछ अर्थात् आकाशगङ्गामा कमैमात्र आकलन गर्न सकिने यी दुईवटा ग्रहको अद्भूत मिलन हुनेछ। सामान्यतया कुनै पनि दुईवटा ग्रह बीचको ६ अंशको सामीप्यलाई अति प्रभावकारी अवस्थाका रूपमा लिइन्छ भने १२ अंशसम्मको दूरीलाई मध्यम प्रभावी मानिन्छ।

चान्द्रराशी (Lunar sign of Horroscope)अनुसार गोचरको प्रभावको अध्ययन हुने गर्दछ, तैपनि जसको कुण्डलीमा राहु वा केतुद्वारा शनिश्चर ग्रह ग्रसितावस्थामा छ वा शनिश्चर ग्रह राहु वा केतुद्वारा पूर्णदृष्ट छ भने तिनलाई यस संयोगले बढी नकारात्मक फल प्रदान गर्नेछ। विंशोत्तरी वा त्रिभागीमा शनिको महादशा र योगिनीमा उल्काको महादशा भोगिरहेका व्यक्तिका लागि समेत यो समय अनिष्ट नै हुन्छ। उता राहु वा केतुको महादशा र सङ्कटाको दशावधिमा रहेका व्यक्तिको कुण्डलीमा राहु ग्रह बलियो स्थितिमा भएमा अप्रत्याशित ढङ्गले शुभफलमा अभिबृद्धि हुनेछ। आजको आलेखमा आगामी करिब १९ महिनाको अवधिमा शनि र राहु यी दुईवटा ग्रहको एउटै राशीमा (तुला राशीमा) हुने मिलनबाट हुने र हुनसक्ने शुभाशुभ पक्षलाई विवेचना गरिएको छ।
पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चर ग्रह(Saturn on Eastern Astrology)

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ। ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनिग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र,छायासुत र मन्द नामबाट यस ग्रहको चर्चा गरिएको पाइन्छ। शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ। कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ। त्यस्तै कुण्डलीकै एकादश भावलाई आय र राज्यसुखको भाव मानिन्छ। त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ। वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ। सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ। यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, यो ग्रहले आफ्नो अक्षमा प्रत्येक नौ घण्टामा एकपटक परिक्रमा गर्दछ। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यसको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यसको वाहन गिद्ध हो र यसले हातमा धनुष,बाण, त्रिशूल लिएको हुन्छ। शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र शनिका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि स्मरणीय छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यस ग्रहको महत्त्व बताउने क्रममा उल्लेख गरिन्छ। शनि भगवान् सूर्यको पुत्र हो, यमराज(काल)लाई शनिको भाइ र यमुनालाई बहिनीका रूपमा लिइन्छ।
पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले शनिको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यसकी पत्नी परम तेजस्वी थिई। कुनै एकदिनको रात्रीकालमा उसले शनिसँग ऋतुदानको कामना गरी,तर त्यस समयमा शनि भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थियो। कामातुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र त्यसको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले शनिकी कामक्रुद्धा पत्नीले उसलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिई- आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उसले सराप्न त सरापी तर पछि आफुले गरेको गल्तीमा उसलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिश्चरमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर ऊ टाउको निहुर्याएर बस्नथाल्यो। ऊ आफ्ना कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थ्यो।
शनि र राहुको सम्बन्ध (Astrological Relationship between Rahu and Saturn)

राहु र केतु एउटै शरीरका दुईभाग हुन् र यी दुबैलाई भिन्नाभिन्नै छाया ग्रह मान्ने गरिन्छ। राहु र केतु यी दुबैलाई अशुभ फलदायक ग्रहका रूपमा पनि लिइन्छ र शनि ग्रहजस्तै कष्टकारी र अशुभ फलप्रदाता मानिन्छ। जब शनिको युति वा दृष्टिसम्बन्ध यी ग्रहसँग हुन्छ, त्यस्तो अवस्थामा शनि ग्रह सामान्यभन्दा अझ कडा, क्रूर र दुष्प्रभावी ग्रहका रूपमा देखा पर्दछन्। जन्मकुण्डली वा गोचरकुण्डलीमा राहु र शनिका माझमा सम्बन्ध स्थापित हुने परिस्थितिमा त्यसको प्रभावले जातकको स्वास्थ्यमा अशुभ प्रभाव पर्दछ। शनिको सम्बन्ध कम्मरमुनिको खुट्टाको क्षेत्रमा र हड्डीमा हुन्छ, राहुले पेट र पाचनप्रणालीमा आफ्नो प्रभाव देखाउँछ भने केतुले जोर्नी र रक्तसञ्चार(स्नायुप्रणाली)मा आफ्नो अधिकार क्षेत्र मान्दछ। त्यसैले शनि र राहुको एउटै राशीमा उपस्थिति हुँदा मनुष्यमा तिनको लग्नकुण्डलीको प्रभावबमोजिम यी क्षेत्रसँग सम्बद्ध रोगले असाध्यै पीडा दिन्छ। जन्मकुण्डलीमा अन्य शुभ योगको अभाव हुँदा धेरैले मृत्युको सिकार पनि हुनु पर्दछ्। राज्यमा शनिको सम्बन्ध श्रमिक, मजदूर, किसान र निमुखा जनतासँग हुने गर्दछ। शनि र राहुको सामिप्य बढ्दै जाँदा यी वर्ग आन्दोलित भई शासक कमजोर छ भने उसलाई सम्हाल्न गाह्रो पनि हुन्छ। तर निरङ्कुश शासकका मनोवृत्तिहरू अझ सबल पनि हुने गर्दछ्। कतिपय स्थितिमा यस्तो संयोग प्राप्त हुँदा जनविरोधी र तानाशाह शासकहरूले शासनसत्ता त्यागी रातारात भाग्नु पर्ने स्थिति पनि आउँछ। सामान्यतया व्यक्तिको जन्मकुण्डली वा गोचरकुण्डलीमा लग्नदेखि सातौं भावका बीचमा शनि र राहुको युति भएको अवस्थामा उसले कम्मरभन्दा मुनिको भागमा पीडा व्यहोर्नु पर्ने हुन्छ भने सातौंदेखि बाह्रौंभावमा युतिहुँदा शरीर उपल्लोभागमा प्रभाव पर्ने देखिन्छ। आर्थिक क्रियाकलापमा पनि कुण्डलीको अवस्थाबमोजिम असर पर्छ। यी दुबै ग्रह व्यक्तिको लग्न, सप्तम, दशम र एकादश भावमा रहँदा यस्ता व्यक्तिले मानसिक समस्या, सुस्तमनस्थिति,अपाङ्गता आदि व्यहोर्नु पर्दछ। कुण्डलीको योग गोचरमा समेत दोहोरिएको समयावधिमा यस्ता जातकमा नैराश्यता,नकारात्मकता आदि देखिनुका साथै मृत्युसमेत हुन्छ वा मृत्युतुल्य कष्ट व्यहोर्नु पर्ने हुन्छ। शरीरमा हड्डीको, धातुमा फलामको र प्रविधिमा यन्त्रको अधिपति शनिलाई मान्ने गरिन्छ। जब गोचरमा शनि र राहुको उपस्थिति एउटै राशीमा हुने गर्दछ त्यस समयमा शनि र राहुको युतिका कारणले मोटर, रेल र हवाइजहाज दुर्घटनाको भय अत्यधिक हुन्छ,धेरै मानिस चोटपटक र हाडजोर्नीको समस्याबाट ग्रस्त हुने गर्छन्, अस्पतालहरूमा हाडजोर्नी विभागलाई सेवा पुर्याउन धौधौ हुने गर्दछ।

राहु र केतु यी दुबै ग्रहलाई एउटै ग्रहको दुईवटा आकृति मानिन्छ। आकशमण्डलमा यी दुबै ग्रहको स्वतन्त्र भौतिक अस्तित्व छैन। सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने क्रममा र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने क्रममा उत्पन्न हुने परिक्रमा पथको दुईवटा काल्पनिक मिलन बिन्दु(Polar Node)लाई राहु र केतुको संज्ञा दिइएको हो। यो बिन्दु सदैव १८० डिग्रीको फरकमा हुन्छ।
पौराणिक आधारमा राहु सूर्यभन्दा १०००० योजन तल रहेर अन्तरिक्षमा भ्रमणशील हुन्छ। कुनै पनि कुण्डलीमा राहु र केतु परस्परमा ६ राशि र १८० अंशको दूरीमा देखिन्छन्। यस ग्रहको दैनिक गति ३ कला ११ विकला छ। ज्योतिषशास्त्रको गणनाबमोजिम यसले १८ वर्ष ७ महिना १८ दिन,१५ घडीमा एउटा राशिमालालाई भ्रमण गर्दछ। पौराणिक आख्यानबमोजिम राहु दैत्यराज हिरण्यकश्यपुकी छोरी सिंहिकाको पुत्र हो, अर्थात् भक्तराज प्रह्लादको भानिज हो। ऋग्वेद र अथर्ववेदमा राहुलाई दैत्यगुरुका रूपमा वर्णन गरिएको पाइन्छ। समुद्रमन्थनपछि अमृत वितरणका अवसरमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा यसलाई देवसमूहमा पठाएको प्रसङ्ग पनि विभिन्न पुराणमा प्राप्त हुन्छ। राहु भगवान् शिवको अनन्य भक्त थियो र अमृत वितरण गर्न विष्णुले धारण गरेको मोहिनी रूपलाई भोलेबाबाको असीम कृपा हुनाले उसले सुरुमैं चाल पायो। त्यसैले उसले देवताको भेष धारण गरी भगवान् विष्णुका हातबाट अमृत प्राप्त गर्यो र अमृतपान गरेर अमर हुने सौभाग्य प्राप्त गर्यो। एक पटक सूर्य र चन्द्रमाद्वारा ऊ राक्षस भएको तथ्य थाहा पाएपछि भगवान् विष्णुले आफ्नो सुदर्शन चक्रद्वारा यसको टाउको र गिंड टुक्र्याइ दिए। त्यसै घटनाको फलस्वरूप यसको शरीरको दुईवटा टुक्रामध्ये शरीर भागको गिंडलाई केतु र टाउकोलाई राहु भन्न थालियो। लामो समयसम्म तपस्या गरेपछि ब्रह्माजीको आशीर्वादस्वरूप यसका शरीरका दुबै भाग राहु र केतुले आकाशमण्डलमा आफ्नो स्थान सुरक्षित तुल्याए। जीवनमा पर्ने प्रभावका आधारमा शनि ग्रहले शुक्र र बुध ग्रहको सहयोगमा एउटा मण्डलीको नेतृत्व गर्दछन् भने सूर्यले चन्द्रमा,मङ्गल र बृहस्पतिको सहयोगमा अर्को मण्डलीको नेतृत्व गर्दछन्। यी दुबै मण्डलीका माझमा रस्साकस्सी चलिरहन्छ,जसको प्रत्यक्षपरोक्ष प्रभाव मनुष्य र अन्य प्राणीको जीवनमा पर्ने कुरामा ज्योतिषशास्त्रीहरूको मतैक्य छ। यस प्रसङ्गमा राहु ग्रहको सम्बन्ध शनिको मण्डलीमा हुन्छ भने केतुको सम्बन्ध सूर्यको समूहसँग हुन्छ। त्यसैले शनिका धेरैजसो स्वभावहरू राहु ग्रहसँग मिल्दाजुल्दा हुन्छन् भन्ने ज्योतिषीहरूको विश्वास छ। ज्योतिषशास्त्रमा शनि र राहुलाई समान विचार र गुण भएका ग्रह भन्नुको तात्पर्य पनि यही हो। सामान्यतया यी दुबै ग्रहलाई दु:ख र कष्टको कारक मानिन्छ।
शनि र राहुको संयोगबाट बन्ने - 'श्रापित', 'नागमणि' र 'नन्द' योग
शनि र राहु ग्रह एउटै राशिमा अवस्थित हुने परिस्थितिबाट 'श्रापित' 'नागमणि' र 'नन्द' योगको सिर्जना हुन्छ भनी भिन्नाभिन्नै ज्योतिषग्रन्थमा लेखिएको पाइन्छ। यी दुईवटै ग्रहले अशुभ फल प्रदान गर्दछन्, त्यसैले यी दुईवटा ग्रहको योगबाट श्रापित र अन्य योगको निर्माण भएको हो। शनि ग्रहको राहु ग्रहमाथि दृष्टि पर्यो भने पनि यसै दायरामा त्यस अवस्थाको गणना गर्ने चलन छ। त्यस्तै शनिको राशी मकर वा कुम्भमा राहु ग्रहको उपस्थिति हुँदा र जन्मकुण्डलीको दसौं वा एघारौं भावमा राहुको उपस्थिति रहँदा पनि यस्तो योगको सिर्जना हुने कुरामा ज्योतिषीहरू विश्वास गर्दछन्। त्यसैले जन्मकुण्डलीमा यो योग अवस्थित रहनुमा पूर्वजन्मको कर्म र त्यसको परिणामको परिणतिलाई मुख्य स्रोत मानिन्छ। केही ज्योतिषीहरूको मतमा यो योग अत्यन्त अशुभदायक हुन्छ र मनुष्यले आफ्नो कर्मबमोजिम त्यसको अशुभ फल भोग्नुपर्छ। व्यक्तिको जन्मकुण्डलीमा यस्तो योग हुँदा त्यस कुण्डलीमा भएका अन्य शुभ र असल योगहरूको शुभफलमा पनि कमी आउँछ भन्ने ज्योतिषीय मान्यता छ। यस योगको दुष्प्रभावका कारण मानिसले आफ्नो जीवनमा कतिपय दुःख, कष्ट व्यहोर्नु पर्छ र जीवनमा अनेकानेक कठिनाइबाट गुज्रनु पर्दछ। श्राप शब्दको सामान्य अर्थ शुभ फल र पुण्यको नाश हुनु भन्ने हुन्छ। जुन मनुष्यको कुण्डलीमा यस किसिमको योग सिर्जना हुन्छ त्यसका समस्त पुण्य र शुभताको नाश हुन्छ र उसको कुण्डलीमा देखिने अन्य शुभलक्षणहरू पनि निष्फल हुन्छन्। तर केही ग्रन्थमा जब दुईवटा मित्र शक्तिको मिलन हुन्छ, त्यसको प्रभावले सम्पूर्ण अशुभ प्रभाव समाप्त हुन्छन् भनिएको पनि नपाइने होइन, आधुनिक ज्योतिषमा बहुचर्चित मानिएको लालकिताबमा शनि र राहुको मिलनलाई 'नागमणि योग' भनी नामकरण गरिएको छ र यस योगको उदयबाट समस्त अशुभ योगको नाश भई शुभफलको प्राप्ति हुन्छ भनी बताइएको छ। 'नान्दी ज्योतिष' नामक ग्रन्थमा यस्तो संयोगलाई धेरै भावमा हानीकारक नै हुन्छ भनी किटान त गरिएको छ तर केही भाव र राशीमा यस्तो योगको सिर्जना हुँदा वैधानिकअवैधानिक भिन्नभिन्न मार्गबाट अकुत सम्पत्ति बटुल्ने सामर्थ्य प्रदान गर्ने विशिष्ट योगको सिर्जना हुन्छ भनिएको छ। शनि र राहुको एउटा राशीमा हुने यो संयोगलाई 'नन्द योग' भन्ने नाम नान्दी ज्योतिषले प्रदान गरेको हो। उक्त ग्रन्थमा यस्तो योग भएका जातकले ठूलो मात्रामा गुप्त धन सञ्चय गर्नसक्ने कुराको सङ्केत गरिएको छ। भिन्नभिन्न ग्रन्थमा विविध मत पाइए पनि यी दुबै ग्रह कुनै जातकको कुण्डलीमा बलवान भएर बसेको अवस्थामा 'राजयोग'समान फल प्रदान गर्ने सामर्थ्य पनि शनि र राहुको यो युति सम्बन्धमा हुन्छ। (Strong Rahu or Saturn give results of a Raja yoga). शनि र राहुमा कुनै पक्षमा समानता पाइन्छ भने कुनै पक्षमा यी दुबै विपरीत ध्रुवमा पनि रहन्छन्, जस्तै यौनका मामिलामा राहुले जातकलाई उत्तेजक बनाउने काम गर्दछ भने शनि यस पाटोमा निष्क्रिय रहन्छ, यी दुबै ग्रहका समान र असमान पक्षलाई निम्नानुसार केलाउन सकिन्छ-
शनि र राहुमा समानता (Similarities between Saturn and Rahu)
१) शनि र राहु दुबै ग्रहलाई कार्मिक ग्रह मानिन्छ (Saturn and Rahu give results according to the Karma)। कार्मिक शब्दको अर्थ हो कर्मअनुरूप फल प्रदान गर्ने। नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहले मनुष्यले पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्ममुताबिक सजाय र पुरस्कार प्रदान गर्दछ। यस्तो कर्मको फल शनिको महादशाकालमा प्राप्त हुने कुरामा ज्योतिषशास्त्रीहरूको एकमत छ। राहुले पनि शनि झैं नै सञ्चित कर्मअनुसारको राम्रो वा नराम्रो फल आफ्नो दशाकालमा प्रदान गर्ने काम गर्दछ।
२) शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन्। तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले यत्ति राम्रो फल प्रदान गर्दछन् कि यिनले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छन्। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ।
शनि र राहुमा भिन्नता (Differences between the nature of Saturn and Rahu)
शनि र राहुका माझमा केही समानता देखिए पनि कुनैकुनै विषयमा यी असमान पनि छन्।
१) शनिको भौतिक अस्तित्व छ अर्थात् यो सौर्यपरिवारको सदस्य पिण्डका रूपमा आकाशगङ्गामा उपस्थित छ जबकि राहु एउटा काल्पनिक र आभाषीय बिन्दु मात्र हो,यसको कुनै भौतिक अस्तित्व छैन।
२) राशिचक्रका बाह्रवटा घरमध्ये मकर र कुम्भ यी दुईवटा राशिको स्वामित्व शनि ग्रहले प्राप्त गरेको छ, तर राहु ग्रहको आफ्नो राशी वा घर छैन, यद्यपि राहु ग्रह व्यक्तिको कुण्डलीमा जुन राशीमा अवस्थित हुन्छ त्यही घरलाई आफ्नो अधिकार क्षेत्र मान्दछ।
३) शनि ग्रहको गति मन्द(ढिलो) छ, त्यसैले शनि ग्रहले प्रदान गर्ने वास्तविक फल जीवनको उत्तरार्द्धमा (सामन्यतया ३६ वर्षपछि) त्यो पनि धिमा गतिमा प्राप्त हुन्छ जबकि राहु ग्रहको व्यक्तिको जीवनमा किशोर-वय (चञ्चले उमेर) देखि नै प्राप्त हुनथाल्छ। यसले शीघ्र फल प्रदान गर्दछ भने तुरुन्त हरण पनि गरिहाल्छ (Rahu gives quick results while Saturn gives delared results)। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ।
४) जसको कुण्डलीमा शनिश्चर ग्रह प्रभावशाली हुन्छ त्यसलाई शनिश्चरले इमानदारी र परिश्रम गर्दै जीवनका गोरेटाहरू पहिल्याउने प्रेरणा प्रदान गर्दछन् भने राहु ग्रहले चतुर्याइँ,धूर्तता र सजिला बाटाबाट धन कमाउन उक्साउने गर्दछ।
शनि र राहुको तुला राशीमा मिलन हुँदा राशीका आधारमा पर्ने प्रभावलाई यसरी अध्ययन गर्न सकिन्छ
मेष राशीको चन्द्रकुण्डलीमा शनिश्चर दशमेश र एकादशेश हुन्छ। अहिलेको अवस्थामा शनि र राहुको संयोग सप्तम भावमा हुँदैछ। खासगरी जीवनसाथिको स्वास्थ्य र मानसिक स्थितिमा नकारात्मक प्रभाव बढ्ने सम्भावना हुन्छ। घरपरिवारमा झैझगडा र किचलो परिरहन्छ। आम्दानीका मार्गहरूमा अवरोध हुनेछ। जागिरेहरूले नचाहेको ठाउँमा सरुवा हुने स्थिति आइलाग्छ र जागिर वा सेवाक्षेत्रमा हरपल तनाव सिर्जना हुन्छ। कत्तिले पेशा त्याग्छन् वा फेरबदल गर्नसक्छन्।
बृष राशीको चन्द्रकुण्डलीमा शनिश्चर नवमेश र दशमेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग छैठौं भावमा हुँदैछ। यस राशीमा रहेका व्यक्तिले हड्डी वा खुट्टासम्बन्धी समस्याबाट आक्रान्त हुनुपर्नेछ। पाचन प्रणालीमा पनि कैफियत देखा पर्नेछ। काम र नोकरीका क्षेत्रमा दिक्दारी भए पनि विवाद, मुद्दा वा प्रशासनिक झमेलाहरूमा विजय प्राप्त हुनेछन्। एक पल्टको प्रयासमा कतिपय काम नबन्न सक्छन्, त्यसिले यस्ता व्यक्तिले धैर्यता नगुमाई काममा लागिरहनु पर्दछ। वैदेशिक क्षेत्रमा रहने व्यक्तिले भने राम्रो अनुभूति गर्नेछन्।
मिथुन राशीको चन्द्रकुण्डलीमा शनिश्चर अष्टमेश र नवमेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग पाँचौं भावमा हुँदैछ। यस राशीमा रहेका मानिसहरूले अचानक स्वास्थ्यसम्बन्धी विविध बाधाहरू व्यहोर्नु पर्ने हुन्छ, दीर्घ रोग देखा पर्नसक्छ र दुर्घटनाको भय छ। सन्तानका तर्फबाट असन्तुष्टि हुनेछ। बौद्धिकक्षेत्रमा संलग्नहरूका लागि वातावरणमा असहज हुनेछ। सामाजिक इज्जत, मर्यादा र मानप्रतिष्ठामा आघात पुग्छ। तर घरबाहिर बस्नेहरूमा यस योगको नकारात्मक प्रभाव पर्ने छैन। देशपरदेशको लाभदायी यात्रा हुनेछ।
कर्कट राशीको चन्द्रकुण्डलीमा शनिश्चर सप्तमेश र अष्टमेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग चौथो भावमा हुँदैछ। कर्कट राशी हुनेहरूले नयाँ रोजगारीको अवसर प्राप्त त गर्नेछन् तर घरपरिवारबाट टाढा जानु पर्नेछ। वैदेशिक रोजगारी उपयुक्त हुन्छ। स्वास्थ्यमा सामान्य नकारात्मकता देखिनेछन्। घरैमा बस्नेहरूका लागि माता, पिता वा मान्यजनको स्वास्थ्यस्थितिले प्रतिकूल मोड लिनेछ। असन्तुष्टि, चिन्ता, शोक र तनाव जस्ता नकारात्मक भावनाले गाँज्नेछन्। महिलाहरू पारिवारिक किचलोका कारण डिप्रेसनसम्मको अवस्थामा पुग्नसक्छन्।
सिंह राशीको चन्द्रकुण्डलीमा शनिश्चर षष्ठेश र सप्तमेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग तेस्रो भावमा हुँदैछ। दाजुभाई र साथीसँगीसित अनावश्यक विवाद हुनेछ। घरायसी सम्पत्तिको बाँडफाड हुने सम्भावना छ। दैनिक आम्दानीका मार्गहरूमा भने सकारात्मक सङ्केत प्राप्त हुने छ। फलाम र यन्त्रसम्बद्ध व्यवसायी वा कर्मचारीहरूले अनेक झमेला व्यहोर्नु पर्नेछ। आयातनिर्यात, ठेक्कपट्टा वा सेवामूलक क्षेत्रबाट मनग्ये लाभ हुनेछ।
कन्या राशीको चन्द्रकुण्डलीमा शनिश्चर पञ्चमेश र षष्ठेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग दोस्रो भावमा हुँदैछ। विद्यार्थीहरूले असफलता हात पार्नेछन्। बौद्धिकक्षेत्रका व्यक्तिमा पठनपाठनका लागि अनुकूल वातावरण नबन्ने स्थिति छ। धन र श्रम दुबै निरर्थक रूपमा नष्ट हुनेछन्। तर अध्ययनका सिलसिलामा विदेशयात्रा सकारात्मक हुनेछ। प्रतिस्पर्द्धा वा साहसी कामका क्षेत्रमा संलग्नहरूले राम्रो सफलता हात पार्नेछन्। विपरीतलिङ्गी वा जीवनसाथीसँग अनावश्यक विवाद आउनेछ। चेलीबेटीका समस्यामा रुमल्लिनु पर्ने अवस्था समेत छ।
तुला राशीको चन्द्रकुण्डलीमा शनिश्चर चतुर्थेश र पञ्चमेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग लग्नमा हुँदैछ। मन उत्ताउलो हुनेछ। कत्तिले बेमेलविवाह,अन्तर्जातीय प्रेमविवाह आदि गर्नेछन्। तपाईंको कामधाम, चरित्र र व्यवहारको गलत ढङ्गले चर्चापरिचर्चा हुनेछ। मन त्यसै त्यसै रुमल्ली रहन्छ। बौद्धिक क्षेत्रमा सन्तुष्ट हुने ठाउँ भेटिंदैन। मातापिताको स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्नेछ। मान्यजनको वियोग पनि हुनसक्छ। गलत र नाजायज काम गर्ने सोच र सल्लाहा दिनेहरू नजिकिन्छन्। प्रशासनिक झैझमेलाको सम्भावना पनि छ। पर्देशमा बस्नेका लागि त्यत्ति अनिष्ट हुँदैन।
बृश्चिक राशीको चन्द्रकुण्डलीमा शनिश्चर तृतीयेश र चतुर्थेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग बाह्रौं भावमा हुँदैछ। कृषि र पशुपालनबाट मनग्ये लाभ प्राप्त हुनेछ। लाभदायी वैदेशिक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। दाजुभाइ र साथीसँगीबाट पर्याप्त सहयोग भने प्राप्त गर्न मुश्किल छ। मातापिताको स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्नेछ। मान्यजनको वियोग पनि हुनसक्छ। सामाजिक रूपमा प्रतिष्ठा प्राप्त गर्न र मानसम्मान प्राप्त गर्न पनि कठिनाइ हुनेछ। आफ्नो थातथलोभन्दा बाहिर गई गरेको व्य्वसायबाट मनग्ये लाभ हुनेछ। धार्मिक, सांस्कृतिक र सामाजिक कामका क्षेत्रमा धन खर्च गर्नु पर्नेछ। वित्तीय कारोबार गर्नेहरूले ठूलो क्षति व्यहोर्नु पर्नेछ।
धनु राशीको चन्द्रकुण्डलीमा शनिश्चर धनेश र तृतीयेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग एघारौं भावमा हुँदैछ। धनु राशी भएका व्यक्तित्वहरूले आकस्मिक रूपमा धनलाभ गर्ने सम्भावना बलियो छ। बेरोजगारहरूका लागि शनि र राहुको यो संयोगले रोजगारीको अवसर जुटाउनेछ। मानसम्मानको प्राप्ति हुनेछ। अध्ययनाध्यापनका क्षेत्रमा पनि वैशिष्ट्य प्राप्ति हुने छ। सामाजिक मानसम्मान र ख्यातिमा बढोत्तरी हुनेछ। न्याय र प्रशाशनिक ओहोदामा बस्नेले जीवनको महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्। तर धनसम्पत्तिमा उतारचढाव आइरहने छ। अनावश्यक क्षेत्रतर्फको खर्चलाई नियन्त्रण गर्न सकिनेछैन।
मकर राशीको चन्द्रकुण्डलीमा शनिश्चर लग्नेश र धनेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग दशम भावमा हुँदैछ। शनि र राहुको संयोगबाट मानसिक रूपमा तीब्र तनाव सिर्जना गर्नेछ। समस्याबाट उम्किन सकिंदैन। एउटापछि अर्को समस्याले गाँज्दै जानेछ। जीवनप्रति नै नैराश्यभाव उत्पन्न हुनेछ। घरपरिवारमा कलह र झैझगडा भैरहन्छ। पिता वा मान्यजनको सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्नेछ र रोगव्याधिले दुःख दिन्छ, वियोगको पीडा नै व्यहोर्नु पर्ने अवस्था पनि आइलाग्छ। खर्च बढ्दै जान्छ। ऋण र उधारोको पारो पनि ह्वात्तै बढछ। तर परदेशीहरूको पीडाको मात्रा भने अलिकम हुन्छ।
कुम्भ राशीको चन्द्रकुण्डलीमा शनिश्चर लग्नेश र व्ययेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग नवम भावमा हुँदैछ। गरेका कामधाममा अनावश्यक विघ्न र बाधा व्यहोर्नु पर्ने हुन्छ। धन र श्रमको प्रतिफल प्राप्त हुन कठिन हुन्छ। शारीरिक, पारिवारिक र मानसिक स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्नेछ। सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्नेछ। धार्मिक र सामाजिक काम गर्दा अपजस व्यहोर्नु पर्ने हुन्छ। भाइबहिनी,सन्तति र नोकरचाकरबाट सन्तुष्टि र सहयोग प्राप्त हुनेछैन। निराशा र कुण्ठाले ढाक्नेछ।
मीन राशीको चन्द्रकुण्डलीमा शनिश्चर एकादशेश र व्ययेश हुन्छ अनि अहिलेको अवस्थामा शनि र राहुको संयोग अष्टम भावमा हुँदैछ। तीर्थयात्रा, माङ्गलिक कार्य,सामाजिक दायित्व वहन गर्ने क्रममा खर्चको मात्रा बढ्ने छ। घरमा कुनै माङ्गलिक कार्य सम्पन्न भएमा त्यसको आर्थिक र व्यवस्थापकीय दायित्व तपाईं एक्लैले व्यहोर्नुपर्ने छ। राज्यपक्षबाट राम्रो लाभ लिने वातावरण सिर्जना हुनेछ। अचल वा पैतृकसम्पत्तिमा कुनै विवाद छ भने यस अवधिमा त्यसको समाधान हुनेछ। घरपरिवारभन्दा बाहिर बस्नेका लागि यो अवधि त्यत्ति सन्तोषप्रद रहने छैन।
माथि बताइएका फलहरू सामान्य गोचरीय सिद्धान्तमा लेखिएका हुन्। तर तपाईंको कुण्डलीमा राहु मेष, मिथुन, कन्या, धनु र मीन राशीमा छ वा केन्द्रवर्ती छ भने नकारात्मक फलमा कमी आउनेछ र शुभफलमा अभिबृद्धि हुनेछ। त्यस्तै शनिश्चर तपाईंको जन्मकुण्डलीमा केन्द्रवर्ती भएर बसेको छ वा बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशीमध्ये कुनै एउटा राशीमा छ भने पनि शनि र राहुको यस मिलनको प्रभावबाट त्यत्ति नकारात्मकता आउने छैनन् र असल फलहरू नै प्राप्त हुनेछन्। तर तपाईंको जन्मकुण्डलीमा शनिसँग राहु र केतुमध्ये एउटा ग्रहको युति छ वा तिनको पूर्ण दृष्टिमा शनिश्चर छ भने माथि राम्रा र असल फल बताइएको छ भने पनि यो संयोगलाई तपाईंको जीवनको सबैभन्दा खराब समयका रूपमा लिए हुन्छ।
शनि र राहु ग्रहको यो संयोगलाई शान्त तुल्याउने शास्त्रीय उपायहरू
सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ-
Ø दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -
ॐ नमस्ते कोणसंस्थाय
पिङ्गलाय नमोस्तुते।
नमस्ते विभुरूपाय
कृष्णाय च नमोस्तुते॥
ॐ नमस्ते रौद्रदेहाय
नमस्ते चान्तकाय च।
नमस्ते यमसंज्ञाय
नमस्ते सौरये विभो॥
ॐ नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते।
प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च॥
ॐ शनैश्चर नमस्तुभ्यं नमस्तेत्वथ राहवे।
केतवेथ नमस्तुभ्यं सर्वशान्ति प्रदो भव।।
ॐ ऊर्ध्वकायं महाघोरं चण्डादित्यविमर्दनम्।
सिहिंकाया: सुतं रौद्रं तं राहुं प्रणमाम्यहम्।।
ॐ पातालधूमसङ्काशं ताराग्रहविमर्दनम्।
रौद्रं रौद्रात्मकं क्रूरं तं केतुं प्रणमाम्यहम्।।

Ø पितृदोषको विवेचना गर्ने क्रममा ज्योतिषशास्त्रमा मतैक्य नरहे पनि मनुष्यको जन्मकुण्डलीमा राहु वा केतु सूर्य, शनि र बृहस्पतिमध्ये कुनै ग्रहसँग एउटै राशीमा उपस्थित रहँदा त्यसलाई पितृदोष नै माने चलन छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तर्कलह, आर्थिक कष्ट,मतभेद, पितापुत्रमा मनोमालिन्य र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। त्यसैले व्यक्तिले शनि र राहुको संयोगले हुने यस अनिष्ट दोषको निवारण गर्नु आवश्यक हुन्छ। अमावस्या(औंसी) तिथिका स्वामी पितृदेवतालाई मान्ने गरिन्छ। यस दिन पितृलाई सम्झने दिन पनि हो। धार्मिक र सांस्कृतिक दृष्टिले यस तिथिलाई पितृदोष निवारण गर्ने विशेष दिनका रूपमा लिइन्छ। अमावस्या (औंसी) तिथिमा तीर्थस्नान गर्नु पर्छ। श्राद्धाधिकार भएमा तीर्थश्राद्धसमेत गर्नुपर्छ र त्यसपछि नदी, सरोवर वा पानीको स्रोत नजिकै बालुवा, माटो वा धातुको शनि, राहु र केतुको प्रतिमा बनाई ती प्रतिमालाई कालो कपडा, काला रङका पूजनसामाग्री(चन्दनाक्षतादि) र कालो कमलको फूल वा कुनै फूल चढाएर श्रमिक,मजदूर, माग्ने(भिखारी वा याचक) वा गरीवगुरुबा(सकिन्छ भने २३ को सङ्ख्यामा)लाई आफ्नो गच्छेअनुसार भोजन, वस्त्र,आभूषण, दक्षिणा आदि बाँड्नु पर्दछ। त्यसरी मूर्तिको स्थापना गर्दा मध्यभागमा शनिलाई र शनिको दायाँतर्फ राहु तथा शनिको बायाँतर्फ केतुको प्रतिमा स्थापना गर्नुपर्दछ।
Ø आफ्नो लग्न अनुकूल हुने गरी शुद्ध र मन्त्रोच्चारणपूर्वक प्रतिष्ठित रत्न वा रुद्राक्ष धारण गर्ने।
Ø शनिचालिसा र कालभैरव स्तोत्रको दैनिक ३ आवृत्ति पाठ गर्ने।
माथिका उपायमध्ये कुनै एउटा उपायको अवलम्बन गरेमा शनि-राहुयुतिको पीडाबाट मुक्तिहुने कुरा ज्योतिर्विदहरू बताउँदछन्।