Wednesday, 21 November 2012

पापाङ्कुशा एकादशी पापाङ्कुशा एकादशी व्रतको महात्म्य तथा कथा


धर्मराज युधिष्ठिरले भगवान् मुकुन्दसित पुनः जिज्ञासा राख्नुभयो- हे भगवन ! आश्विन शुक्लपक्षको एकादशीको नाम के हो? अब हजुरले कृपा गरी यसको विधि तथा फल के हुन्छ बताउने कष्ट गर्नुहोस। भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- हे युधिष्ठिर ! पापसमूहको नाश गर्ने सामर्थ्य भएको यस एकादशीको नाम पापांकुशा एकादशी हो। हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भग
वान पद्‍मनाभको पूजा गर्नुपर्छ। यो एकादशीले मनुष्यलाई मनोवांछित फल दिएर स्वर्ग प्राप्त गराउदछ। मनुष्यले लामो समयसम्म कठोर तपस्याबाट जुन फल प्राप्त गर्दछ, त्यो फल भगवान गरुड़ध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन्छ। जो मनुष्यले अज्ञानवश अनेक पाप गर्दछ परंतु भगवान् हरिलाई नमस्कार गर्दछ, त्यसले नरकमा जानु पर्दैन। विष्णुको नामको संकीर्तनबाट संसारका सबै तीर्थका पुण्यफल प्राप्त हुन्छ। जो मनुष्यले शार्ङ्‍ग धनुषधारी भगवान विष्णुको शरण लिएको छ, त्यसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन। जो मनुष्य वैष्णव भएर शिवको र शैव भएर विष्णुको निंदा गर्दछ, ती अवश्य नरकवासी हुन पुग्छन। हज्जारौ वाजपेय र अश्वमेध यज्ञबाट जुन फल प्राप्त हुन्छ, त्यो एकादशीको व्रतको सोह्र भागको एक भाग पनि होइन। संसारमा एकादशीको समता हुने कुनै पुण्य छैन। यस एकादशीबराबरको पवित्र वस्तु तीनै लोकमा केही पनि छैन। यस एकादशी-बराबरको कुनै व्रत छैन। जबसम्म मनुष्यले पद्‍मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ। हे राजेन्द्र! यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुंदर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ। एकादशीको व्रतको समानता गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन। हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ। हे युधिष्ठिर ! यस व्रतलाई विधिपूर्वक लिने व्यक्तिले दस पुस्ता मातृपक्ष, दस पुस्ता पितृपक्ष, दस पुस्ता स्त्रीपक्ष तथा दस पुस्ता मित्रपक्षको उद्धार गर्दछ। ऊ दिव्य देह धारण गरी चतुर्भुज रूप भई, पीतांबर पहिरिएर र हातमा माला लिएर गरुड़मा बसेर विष्णुलोक जान्छ। हे नृपोत्तम ! बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्‍गति प्राप्त गर्दछ। आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन। जो मनुष्यले कुनै प्रकारको पुण्य कर्म नगरी जीवनका दिन व्यतीत गर्दछ, त्यो कामीको खलाँतीले जसरी सास फेर्छ र निर्जीव समान हुन पुग्छ। निर्धन मनुष्यले पनि आफ्नो शक्ति-अनुसार दान गर्नु पर्दछ तथा धनयुक्तले त सरोवर, बगैंचा, घर आदि बनाएर दान गर्नु पर्दछ। यस्तो कर्म गर्ने मनुष्यले यमलोकको द्वार कहिल्यै पनि देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्‍य, कुलीन र रोगरहित हुन पुग्छ।

No comments:

Post a Comment